
बैशाख २५, वीरगंज । उच्च अदालत जनकपुर को अस्थायी इजलास वीरगंजले नेपाल कम्युनिस्ट पार्टीका नेता मनोज चौधरीलाई दुई लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका चौधरीलाई गत फागुन १९ गते प्रहरीले पक्राउ गरेको थियो । सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा ले उनको सवारीसाधनबाट विष्फोटक पदार्थजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको दाबी गर्दै नियन्त्रणमा लिएको थियो ।
उक्त घटनापछि पर्सा जिल्ला अदालत ले चैत १२ गते चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध चौधरी पक्षले उच्च अदालतमा पुनरावेदन दायर गरेको थियो ।
सो मुद्दामा न्यायाधीश गोकर्ण डाँगी र दुर्गाप्रसाद ढुङ्गेल को संयुक्त इजलासले सुनुवाइ गर्दै धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
यसै घटनामा चौधरीसँगै चालक सहाब आलम अन्सारी, सत्यनारायण दास थारू र सुरज कार्की पनि धरौटीमा रिहा भएका छन् । अदालतले चौधरीलाई दुई लाख ५० हजार, थारू र कार्कीलाई जनही एक लाख ५० हजार तथा अन्सारीलाई दुई लाख रुपैयाँ धरौटी माग गरेको थियो । चारैजनाले धरौटी बुझाएर रिहा भएका छन् ।