
बैशाख १७, वीरगंज । वीरगंज भन्सार कार्यालयले अवैध रूपमा नेपाल भित्र्याइएका विद्युतीय सवारी साधन ९ई–स्कुटर० सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागको निर्देशनअनुसार विभिन्न मितिमा नियन्त्रणमा लिइएका ई–स्कुटरहरूको सूची सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भारतबाट आवश्यक भन्सार प्रक्रिया पूरा नगरी तथा वैध कागजातबिनै ल्याइएका विभिन्न कम्पनीका दर्जनौँ ई–स्कुटर नियन्त्रणमा लिइएका हुन् । जफत गरिएका सवारी साधनहरूमा विभिन्न ब्रान्ड र मोडलका स्कुटरहरू समावेश छन् ।
भन्सार कार्यालयले सम्बन्धित सवारीधनी तथा दाबीवालाहरूलाई स्वामित्व प्रमाणित गर्ने आवश्यक कागजातसहित तोकिएको समयभित्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए प्रचलित भन्सार ऐन तथा अन्य कानुनी प्रावधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ ।
सीमावर्ती क्षेत्र हुँदै पछिल्लो समय भन्सार छलि गरी विद्युतीय सवारी भित्र्याउने क्रम बढ्दै गएपछि नियन्त्रण तथा निगरानी कडा पारिएको भन्सार स्रोतले जनाएको छ । राजस्व चुहावट रोक्न यस्ता अवैध आयातमाथि निरन्तर कारबाही जारी रहने कार्यालयले स्पष्ट पारेको छ ।