Menu

आजको मौसम

कांग्रेसमा युवाहरूको सक्रियता अनिवार्य : गगन थापा

Author
News-Desk | April 22, 2026
0
Featured

बैशाख ९, वीरगंज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई पुनः सशक्त बनाउन युवाको सक्रिय सहभागिता अनिवार्य रहेको सन्देश दिएका छन् ।

पार्टीको संगठनात्मक सुधार र गुमेको मत फिर्ता ल्याउन युवाको सक्रिय सहभागिता एवं रणनीति अनिवार्य भएको उनको भनाइ छ । कांग्रेस कोशी प्रदेश समितिद्वारा विराटनगरमा बुधबार आयोजित निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र नयाँ पुस्तालाई आकर्षित नगरी संगठन मजबुत बन्न नसक्ने स्पष्ट पारे । उनका अनुसार कांग्रेसको इतिहास, विगतका उपलब्धि र सुशासनका प्रयासका बारेमा नयाँ पुस्तामा पर्याप्त जानकारी नपुग्नु पनि पार्टीप्रति दुरी बढ्नुको एक प्रमुख कारण हो ।

पार्टीले पछिल्लो निर्वाचनमा करिब १० लाख मत गुमाउनु सामान्य विषय नभएको भन्दै थापाले यसलाई गम्भीर आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताए । गुमेका मतदाता पुनः कांग्रेसतर्फ फर्काउने स्पष्ट रणनीति आवश्यक रहेको उल्लेख गर्दै उनले आफू त्यस अभियानमा जिम्मेवारीपूर्वक अघि बढ्ने दाबी गरे । सरकारप्रति कडा आलोचना गर्दै उनले पछिल्ला निर्णयहरू कानुनी प्रक्रिया र संवैधानिक मर्यादाभन्दा बाहिर गएर ‘लहडका भरमा’ भइरहेको आरोप लगाए ।

विधिको शासन कमजोर पार्ने अभ्यास स्वीकार्य नहुने चेतावनी उनले दिए । उनले कांग्रेसले यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा निरन्तर प्रश्न उठाउने बताए । भदौ २४ गतेको घटनाका बारेमा बोल्दै थापाले निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग दोहोर्‍याएका छन् । राज्यका निकायले अनुसन्धान गर्ने अधिकार राखे पनि कानुन उल्लंघन गर्न नपाइने भन्दै उनले विधिको शासनमा कुनै सम्झौता नहुने स्पष्ट पारे ।

कांग्रेसको राजनीतिक भूमिकाका बारेमा प्रष्ट पार्दै उनले संघीय संसदमा प्रतिपक्ष भए पनि सातै प्रदेशमध्ये अधिकांशमा सरकारमा सहभागी रहेको उल्लेख गरे । राम्रो काममा समर्थन र जनहितविपरीत गतिविधिमा तथ्यसहित प्रश्न गर्ने नीति पार्टीले लिएको उनले बताए । थापाले क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक प्रक्रिया डिजिटल प्रणालीमार्फत अघि बढाइँदै गरिएको जानकारी दिए । यसले पार्टीलाई पारदर्शी, व्यवस्थित र आधुनिक बनाउने विश्वास व्यक्त गर्दै उनले ज्येष्ठ सदस्यहरूको योगदानलाई डिजिटल अभिलेखीकरणमार्फत सुरक्षित गरिने बताए ।

आगामी १५ औं महाधिवेशनलाई पार्टी पुनर्गठनको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले चार पुस्तालाई समेटेर समावेशी संगठन निर्माण नगरेसम्म कांग्रेस बलियो हुन नसक्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?