
बैशाख १४, वीरगंज । पर्सा जिल्लामा गएराति आएको असिनासहितको हावाहुरी र वर्षाले विभिन्न स्थानमा व्यापक क्षति पुर्याएको छ। राति करिब ११ बजे आएको आँधीले तरकारी तथा केरा खेतीमा ठूलो नोक्सानी गर्नुका साथै खरफुस र जस्तापाताले छाएका घर–टहराका छाना उडाएको स्थानीयहरूले बताएका छन्।
हावाहुरीबाट बहुदरमाई नगरपालिका का बिश्रामपुर टोल, रामनगरी, भौराटार, पिपरा लगायत क्षेत्र प्रभावित भएका छन्। त्यस्तै बिन्दवासिनी गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिका सहित जिल्लाका अधिकांश पालिकामा असिनासहितको वर्षाले क्षति पुर्याएको जनाइएको छ।
विशेषगरी बहुदरमाई नगरपालिका–बिश्रामपुर क्षेत्रमा लगाइएको मकै र बोडी बालीमा ठूलो क्षति पुगेको छ। साथै, खरफुस तथा जस्ताले छाएका घरहरूमा समेत उल्लेखनीय क्षति पुगेको स्थानीयको भनाइ छ। क्षतिको पूर्ण विवरण भने अझै संकलन हुन बाँकी रहेको छ।
यसैबीच, पोखरिया नगरपालिका–१०, सी बरवामा स्थानीय राम अयोध्या साहको घरमा पिपलको रुख ढल्दा घर पूर्ण रूपमा नष्ट भएको छ। उक्त घटनामा घरमा बाँधिएको एक खसी समेत मरेको पीडितले जानकारी दिएका छन्।
अचानक आएको प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारहरूले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ। स्थानीयवासीहरूले पीडितहरूलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउन माग गरेका छन्।
सम्बन्धित निकायलाई छिटो क्षतिको विवरण संकलन गरी राहत र पुनःस्थापना कार्य अघि बढाउन समेतआग्रह गरिएको छ।