
बैशाख १२, काठमाडौं । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाइएको छ। अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउँदै महानगरले बस्ती खाली गराएको हो।
गैरीगाउँको बस्ती हटाएपछि उक्त टोली अहिले सिनामंगलस्थित सुकुम्बासी बस्ती हटाउन त्यसतर्फ अघि बढेको छ। नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान शनिबार बिहानदेखि तीव्र बनाइएको हो।
अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा गैरीगाउँमा रहेका अस्थायी तथा स्थायी संरचनाहरू हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार गैरीगाउँमा बस्ती हटाएपछि अहिले सिनामंगल क्षेत्रमा घरटहरा भत्काउने कार्य सुरु गरिएको छ।
बस्ती हटाउने क्रममा हालसम्म कुनै ठूला अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ। महानगर प्रहरीका अनुसार गैरीगाउँमा कम्तीमा एक सय घरटहरा भत्काइएको छ।