
बैशाख १३, काठमाडौं । राजधानीको मनोहरा नदी किनारमा वर्षौँदेखि रहेको सुकुमबासी बस्ती हटाउन प्रशासनले सुरक्षाको ‘अभूतपूर्व’ घेराबीच डोजर चलाउन सुरु गरेको छ ।
अघिल्लो साँझ सुरक्षाकर्मी र स्थानीयबीच भएको हिंसात्मक झडपले तनावपूर्ण बनेको यस क्षेत्रमा आज बिहानैदेखि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी संरचनाहरू ढलाउन थालिएको हो ।
हिजो साँझको ढुङ्गामुढा र प्रतिकारका क्रममा २२ जना सुरक्षाकर्मी घाइते भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आज सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार सम्भावित मुठभेड रोक्न उपत्यकाका तीनै जिल्लाबाट टोली झिकाइएको छ । जसमा १३ सय नेपाल प्रहरी र ६ सय सशस्त्र प्रहरी गरी कुल १९ सय सुरक्षा फौजले सो क्षेत्रलाई नियन्त्रणमा लिएका छन् ।
बस्ती खाली गर्नका लागि प्रशासनले आज बिहान ९ बजेसम्मको अन्तिम समयसीमा दिएको थियो । स्थानीयले आफ्ना सरसामान आफैँ हटाउने र घरटहरा खाली गर्ने प्रतिबद्धता जनाएपछि दिइएको उक्त समय सकिएलगत्तै डोजरहरूले संरचना भत्काउन सुरु गरेका हुन् ।
उपरीक्षक खड्काले अधिकांश बासिन्दाले घरभित्रका सामान सुरक्षित स्थानमा सारिसकेको र अहिले बस्ती खाली गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिनुभयो ।
मनोहरा नदीको बहाव क्षेत्र मिचेर बनाइएका कुल ७७७ वटा घरटहरामाथि प्रशासनको डोजर चल्न थालेपछि सो क्षेत्रका बासिन्दाहरू यतिबेला आफ्ना पोकापुन्तुरा बोकेर अन्योलपूर्ण यात्राको तयारीमा देखिएका छन् । विगत लामो समयदेखि विवादित बन्दै आएको यो सुकुमबासी बस्ती हटाउने कदमले आज भने निर्णायक मोड लिएको छ ।